सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आजदेखि सुरु

User Image Prime TV News १० महिना अगाडि
Image of सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आजदेखि सुरु

काठमाडौ । सत्तारुढ नेकपा ( एमाले ) को दोस्रो विधान महाअधिवेशन आज देखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। उद्घाटन समारोह बिहान ११ बजे हुने छ । महाअधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

यस महाधिवेशनको उद्घाटन समारोहमा परम्परागत रूपमा स्वागत र शुभकामना मन्तव्यहरू नहुने बताएर एमालेले कार्यक्रममा छोटो समयको व्यवस्था गरेको छ। उद्घाटन समारोह मात्र १२ मिनेटको हुनेछ। यसअघि, २०७८ सालमा पार्टीले पहिलो विधान महाधिवेशन आयोजना गरेको थियो। उद्घाटन समारोहमा विभिन्न प्रकारका धुन बजाइनेछन्। मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने कार्यक्रम छ। 

महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। एमालेका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३४१ जना सहभागी हुनेछन्। 

महाधिवेशनको लागि चार वटा प्रवेश द्वार व्यवस्था गरिएको छ। पहिलो द्वारबाट ओली मात्र प्रवेश गर्नेछन्, जबकि अन्य पदाधिकारी, मन्त्री र मुख्यमन्त्रीहरू दोस्रो र तेस्रो द्वारबाट प्रतिनिधिहरूसँगै प्रवेश गर्नेछन्। प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूले परिचय स्क्यान गर्ने ६ वटा बुथबाट प्रवेश पाउने छन्।

महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।