ओलीको प्रतिवेदन : आलोचना,अनुभव र वैचारिक कमजोर कार्यकर्ताले पार्टीमा गुटबन्दी र अनुशासनको संकट निम्त्यायो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरूको अनुभव र वैचारिक स्तरमा कमी आएपछि संगठनमा समस्याहरू देखा परेको बताएका छन्। पार्टीको आगामी विधान महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा ओलीले यो कुरा उल्लेख गरेका हुन्।
उनले भनेका छन्, ‘‘पार्टीका महत्वपूर्ण जिम्मेवारीमा अनुभव नभएका र वैचारिक दृष्टिले कमजोर कार्यकर्ताहरूको समावेशीकरणका कारण पार्टीको पद्धति र अनुशासनमा कमजोरी आएको छ। पछिल्लो समयमा यस्ता कार्यकर्ताहरूले समर्थन वा विरोधका नाममा पार्टीका आन्तरिक अनुशासनको सीमा उल्लंघन गर्ने प्रवृत्ति देखाउन थालेका छन्।’’
आफ्नो प्रतिवेदनमा ओलीले पार्टीको आन्तरिक संरचनामा अवसरवाद र अराजकता फैलिनुको मुख्य कारण गुटबन्दीलाई मानेका छन्। ‘मिसन चौरासीको सफलता सुनिश्चित गर्नका लागि अवसरवाद र संगठनात्मक अराजकताविरुद्ध संघर्ष आवश्यक रहेको उल्लेख गरेका छन् ।
यसैगरी, पार्टीका अध्यक्ष ओलीले स्थानीय तहसम्म गुटबन्दीको सम्भावना बढेकोमा चिन्ता व्यक्त गरे। ‘‘नीति र नेतृत्वका मुद्दामा पार्टीको स्थिती सन्तुलित भए पनि स्थानीय तहमा अन्तरविरोधका कारण गुटबन्दीको समस्या बढ्न सक्ने जोखिम देखिन्छ,’’ उनले प्रतिवेदनमा लेखेका छन् ।







