त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्तिक ११ गतेदेखि सुरु हुने
Prime TV News १० महिना अगाडि 
काठमाडौं । देशको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै शैक्षिक कार्यक्रम आगामी कार्तिक ११ गतेदेखि मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै भदौ २९, ३०, ३१ र असोज १, २, ५ साथै कार्तिक ९ गते विश्वविद्यालय अन्तर्गतका सबै पठनपाठन कार्य बन्द रहने जानकारी दिएको छ।
उक्त दिनहरूमा हुने पठनपाठन स्थगन गरिने र त्यसको सट्टा हिउँदे बिदाबाट कटौती गरिने उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण उपर्युक्त मितिमा विश्वविद्यालयका सम्पूर्ण शैक्षिक क्रियाकलाप बन्द रहनेछन्। नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सुरु हुनेछ।”
हाल जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरका शैक्षिक संस्था प्रभावित भएका छन्। यसैको प्रभावस्वरूप त्रिभुवन विश्वविद्यालयले पनि पठनपाठन स्थगन गर्ने निर्णय लिएको हो।







