दसैँका लागि सुकिला नोट सटही असोज १ गतेदेखि सुरु

User Image Prime TV News १० महिना अगाडि
Image of दसैँका लागि सुकिला नोट सटही असोज १ गतेदेखि सुरु

काठमाडौ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही यहि असोज १ गते आइतबारदेखि सुरु गर्ने भएको छ । बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ।

यसअघि आजैदेखि नोट वितरण गर्ने तयारी भए पनि देशमा देखिएको राजनीतिक संक्रमणका कारण सटही प्रक्रिया अन्योलमा परेको थियो। तर, नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूको संरचनामा ठूलो क्षति नपरेकाले तोकिएको मिति अनुसार नै नोट सटही गर्न सकिने जानकारी दिएका छन्।

नेपाल राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरू काठमाडौँ थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीका साथै अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधरणहरुले सुकिला नोट सटही गर्न सक्नेछन्।

राष्ट्र बैंकले अघिल्लो वर्षदेखि नयाँ नोटको सट्टामा सुकिला नोट वितरण गर्दै आएको छ। नयाँ नोट छपाइमा अत्यधिक खर्च हुने भएकाले सुकिला नोट वितरणबाट वार्षिक झण्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ।