कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहण आज
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्का सदस्यहरुको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, शपथ ग्रहण समारोह शितल निवास परिसरमा बिहान साढे ११ बजे हुने बताईएको छ ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीलाई नियुक्त गरेकी थिइन्। अर्थ मन्त्रीको रुपमा रामेश्वर खनाल, गृहमन्त्रीको रुपमा ओमप्रकाश अर्याल, र ऊर्जा मन्त्रीको रुपमा कुलमान घिसिङको नाम टुंगो लागेको छ।
ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ भने कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने छ।
यद्यपि, मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन्। उनीहरूले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।







