सविता भण्डारीले लिइन् महान्यायाधिवक्ताको शपथ, नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल

User Image Prime TV News १० महिना अगाडि
Image of सविता भण्डारीले लिइन् महान्यायाधिवक्ताको शपथ, नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सोमबार सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा भण्डारीले पदभार ग्रहणसँगै शपथ लिएकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा नियुक्त गरेका थिए। पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।

वरिष्ठ अधिवक्ता भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन्। यसअघि उनी सूचना आयोगमा सूचना आयुक्तका रूपमा पनि कार्यरत रहेकी थिइन्।

भण्डारी कानुनी क्षेत्रमा अनुभवी व्यक्तित्व मानिन्छिन्। उनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। लामो समयदेखि न्यायिक क्षेत्र र कानुनी सुधारका विषयमा क्रियाशील रहँदै आएकी भण्डारीको नियुक्तिलाई न्याय क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।