साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल आज पुनः बंगलादेशसँग प्रतिस्पर्धामा, जित्नैपर्ने दबाब
Prime TV News १० महिना अगाडि 
काठमाडौं । भुटानको चाङ्लिमिथाङ रंगशालामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज चौथो खेल खेल्दैछ। नेपाली टोलीको प्रतिद्वन्द्वी फेरि बंगलादेश नै हुनेछ। खेल दिउँसो २ वजेर ४५ मिनेटमा सुरु हुने छ।
नेपालले आइतबार भएको तेस्रो खेलमा बंगलादेशसँग ३–० को हार बेहोरेको थियो। त्यसअघि पहिलो खेलमा भारतसँग ७–० को पराजय भोगेको नेपाली टोलीले दोस्रो खेलमा मात्र आयोजक भुटानमाथि २–१ को जित निकाल्न सफल भएको थियो ।
जित्नैपर्ने दबाब
आजको खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। यदि नेपाली टोली आज पनि पराजित भएमा, बाँकी दुई खेल खेल्नुअघि नै नेपाल उपाधि दौडबाट बाहिरिनेछ। त्यसैले टोलीमा जित्नैपर्ने दबाब छ। नेपालले आजको खेलपछि अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ। यी दुई खेलमा पनि जित आवश्यक हुनेछ।
प्रतियोगिता प्रारूप र स्थिति
चार टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा खेलिंदैछ। नेपालसहित भारत, बंगलादेश र भुटान यस प्रतियोगितामा छन्। अन्त्यमा अंक तालिकामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ।
नेपालले यस प्रतियोगितामा सातौं पटक सहभागिता जनाइरहेको हो। अघिल्लो संस्करणमा, सन् २०२२ मा, नेपालले पहिलोपटक उपाधि जितेको थियो। भारत र बंगलादेशले यसअघि २र२ पटक च्याम्पियन बन्ने सफलता हात पारेका छन्।
नेपाली टोली
नेपालको २३ सदस्यीय टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल रहेका छन् ।







