जेनजी मुभमेन्ट अलायन्सको सरकारलाई ध्यानाकर्षण, सुकुम्बासी बस्ती हटाउने विषयमा आलोचना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी मुभमेन्ट अलायन्सले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले बल प्रयोग गरेको र व्यवस्थापन कमजोर भएको भन्दै आपत्ति जनाएको छ।
अलायन्सले विज्ञप्ति जारी गर्दै विशेषगरी मधेश प्रदेशमा भएको बस्ती हटाउने क्रममा वैकल्पिक आवासको व्यवस्था नदेखिएको बताएको छ। उनीहरूले यस्तो कार्यले प्रभावित समुदायप्रति अन्याय भएको टिप्पणी गरेका छन्।
अलायन्सका अनुसार नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समान व्यवहार, आवास र सामाजिक न्यायको अधिकार दिएको छ। तर व्यवहारमा त्यो पालना नभएको उनीहरूको भनाइ छ।विकासका नाममा नागरिकलाई विस्थापित गर्दा वैकल्पिक आवास, पुनर्वास र उचित मुआब्जा दिनुपर्ने उनीहरूले माग गरेका छन्।
सरकारसँग चार बुँदे माग राख्दै अलायन्सले सुकुम्बासीका लागि सुरक्षित आवास, पुनर्वास नीति, संरचना हटाउँदा सहमति र सबै नागरिकप्रति समान व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको छ। अलायन्सले विकासका क्रममा मानवता र समानतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ।







