सुकुम्बासी बस्ती स्थानान्तरणमा विद्यार्थीका लागि ६ बुँदे निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती स्थानान्तरणका क्रममा प्रभावित भएका विद्यार्थीको पढाइ र परीक्षा सहज बनाउन ६ बुँदे निर्देशन जारी गरेका छन्। उनको निर्देशनपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई विभिन्न व्यवस्था मिलाउन आग्रह गरेको छ।
निर्देशनमा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीलाई नजिकैको विद्यालयमा भर्ना र स्थानान्तरण गर्न सहजीकरण गर्न भनिएको छ। साथै परीक्षा व्यवस्थापनमा समस्या नआओस् भनेर विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।
हाल सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग गर्न र प्रभावित विद्यालयमा वैकल्पिक व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। त्यस्तै, विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै समस्या भए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन स्थानीय तहलाई अनुरोध गरिएको छ।







