वाणिज्य बैंकहरूको नाफा बढ्यो, केही बैंकको घट्यो
Prime TV News एक महिना अगाडि काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म नेपालका वाणिज्य बैंकहरूको नाफा बढेको छ। बैंकहरूको कुल नाफा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो। तेस्रो त्रैमाससम्म बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन्।
गत वर्ष यही अवधिमा भने ४१ अर्ब २५ करोड रुपैयाँ मात्रै नाफा भएको थियो। यस अवधिमा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ। बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले ४ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ।
नाफा वृद्धि दरका हिसाबले भने कुमारी बैंक अगाडि देखिएको छ। यस बैंकको नाफा अघिल्लो वर्षको तुलनामा धेरै बढेको छ। तर सबै बैंकको अवस्था उस्तै छैन। प्रभु बैंक को नाफा ५४ प्रतिशतले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को नाफा पनि ३० प्रतिशतले घटेको छ। समग्रमा भने अधिकांश बैंकहरूको नाफा बढ्दा बैंकिङ क्षेत्र सकारात्मक देखिएको छ।







