काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ। दिउँसोपछि आएको तीव्र हावाहुरीका कारण उपत्यकामा केहीबेरमै अँध्यारो भएको थियो।
जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म देशका धेरै जिल्लामा असर पर्न सक्ने जनाएको छ। विभागका अनुसार हावाहुरी अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६:४५ बजेसम्म चल्न सक्ने अनुमान गरिएको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले हावाहुरी बुधबारदेखि सुरु भई बिहीबार बिहानसम्म जारी रहन सक्ने बताएका छन्। मौसम विभागले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा उच्च गतिको हावाहुरी चल्न सक्ने जनाएको छ।
कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङलगायत जिल्लामा यसको बढी असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ। विभागले हावाहुरीका बेला सतर्क रहन, अनावश्यक बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।







