सुकुम्बासी संघको आन्दोलन घोषणा, दुई चरणमा कार्यक्रम सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्ती हटाउन थालेपछि अखिल नेपाल सुकुम्वासी संघले आन्दोलन घोषणा गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष अमर परियारले दुई चरणमा आन्दोलन गर्ने जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा सरकार र जनप्रतिनिधिको ध्यानाकर्षण गराइनेछ। यस क्रममा संघले संघीय संसद र प्रदेश सभाका सांसदलाई भेटेर समस्या बारे जानकारी दिनेछ। दोस्रो चरणको आन्दोलन वैशाख २० गतेदेखि सुरु हुनेछ। यसमा देशभर जिल्ला, पालिका र बस्तीस्तरमा विरोध कार्यक्रम गरिनेछ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयअगाडि पनि शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ ।
संघले वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम तय गरेको छ। यदि माग पूरा नभए जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहित अनिश्चितकालीन आमहड्ताल गर्ने चेतावनी दिएको छ। सुकुम्बासी बस्ती हटाउने काम रोक्न र विस्थापितलाई बसोबासको व्यवस्था गर्न सरकारले ध्यान नदिए आन्दोलन अझ कडा बनाइने संघले जनाएको छ।








