जग्गा धितो बन्धकी र फुकुवा अब अनलाइनबाट हुने, मालपोत धाउन नपर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले अब जग्गा धितो राख्ने र रोक्का–फुकुवा गर्ने प्रक्रिया अनलाइन प्रणालीमार्फत गर्ने भएको छ। यसले सेवाग्राहीलाई मालपोत कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको हो। अब बैंक तथा वित्तीय संस्थाबाट हुने धितो सम्बन्धी काम डिजिटल रूपमा नै हुनेछन्।
यस नयाँ व्यवस्थाअनुसार बैंकले ऋण दिँदा वा ऋण चुक्ता भएपछि जग्गा रोक्का राख्ने र फुकुवा गर्ने काम अनलाइनबाटै गर्न सकिनेछ। यसका लागि बैंक र मालपोत कार्यालयबीच डिजिटल प्रणाली जोडिनेछ। सरकारले यो प्रणाली लागू भएपछि सेवाग्राहीले बिचौलियालाई पैसा दिनुपर्ने अवस्था अन्त्य हुने र सेवा छिटो तथा पारदर्शी हुने बताएको छ।
निर्णयअनुसार केही बैंकहरूले २०८३ वैशाख २१ देखि अनलाइन सेवा सुरु गर्नुपर्नेछ भने सबै बैंक तथा वित्तीय संस्थाले २०८३ जेठ १ देखि अनिवार्य रूपमा यो प्रणाली प्रयोग गर्नुपर्नेछ। सरकारले यसले मालपोत कार्यालयमा हुने भीड करिब ६० प्रतिशतसम्म घट्ने अपेक्षा गरेको छ।







