निरन्तर वर्षासँगै आएको पहिरोका कारण मुख्य सडक र राजमार्गहरू अवरुद्ध
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशका विभिन्न भागमा परेको निरन्तर वर्षासँगै आएको पहिरोका कारण मुख्य सडक र राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार आज बिहानको पहिरोले ललितपुरको कान्तिलोकपथ, प्युठानको भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी क्षेत्रको कान्ति लोकपथ र लमजुङको मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन रोकिएको जानकारी दिएका छन्। उनले सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा रहेको अरनिको राजमार्ग पनि पहिरोका कारण अझै सञ्चालनमा आउन नसकेको बताए।
यसअघि बाढी र पहिरोले अवरुद्ध बनाएका केही सडक भने अहिले आंशिक रूपमा खुलेका छन्। भोजपुरको मध्यपहाडी लोकमार्ग र म्याग्दीको बेनी–जोमसोम सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। प्रहरीले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।







