हवाई इन्धन मूल्य बढेपछि वायुसेवा कम्पनी संकटमा, सहुलियतको माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आन्तरिक उडान गर्ने निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि सेवा सञ्चालनमा समस्या आएको भन्दै सरकारसँग राहत माग गरेका छन्। वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र लेख्दै तत्काल सहुलियत दिन आग्रह गरेको हो।
संघका अनुसार कोरोना महामारी, जेनजी आन्दोलन र पश्चिम एसियामा जारी युद्धका कारण हवाई इन्धनको मूल्य लगातार बढिरहेको छ। यसले गर्दा उडान खर्च बढेको र यात्रु संख्या पनि घटेको बताइएको छ। कम्पनीहरूले अहिले आफ्नो कुल खर्चको ५५ देखि ६० प्रतिशतसम्म इन्धनमै खर्च भइरहेको भन्दै आर्थिक दबाब बढ्दै गएको बताएका छन्।
यही अवस्था रहिरहे सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन्। संघले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिइने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ लगायतका शुल्कमा ५० प्रतिशत छुट दिन माग गरेको छ। साथै विमानस्थल सेवा शुल्क घटाउन पनि अनुरोध गरिएको छ।
त्यस्तै वायुसेवा कम्पनीलाई विशेष उद्योगसरह मानी आयकरमा २० प्रतिशत छुट दिनुपर्ने माग गरिएको छ। अहिले डलरमा उठाइँदै आएको शुल्कलाई नेपाली रुपैयाँमा तोक्नुपर्ने सुझाव पनि संघले दिएको छ। वायुसेवा कम्पनीहरूले तत्काल सहुलियत नदिए हवाई सेवा प्रभावित हुने चेतावनी दिएका छन्।







