बुटवलको मोतिपुर क्षेत्रमा बस्ती हटाउने तयारीविरुद्ध स्थानीय बासिन्दा सडकमा
Prime TV News एक महिना अगाडि 
बुटवल । बुटवलको मोतिपुर क्षेत्रमा बस्ती हटाउने तयारीविरुद्ध स्थानीय बासिन्दा सडकमा उत्रिएका छन्। मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गर्न निर्देशन आएपछि स्थानीयमा आक्रोश बढेको हो। त्यसपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’ जस्ता नारा लगाएका थिए। स्थानीयका अनुसार बस्ती हटाउने निर्णय अघि बढाइए पनि पहिले पुनर्वासको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। बिना विकल्प हटाउने काम अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ।
एक प्रदर्शनकारीले बस्नको विकल्प नदिई हटाउनु गलत भएको भन्दै पहिले सुरक्षित पुनर्वास सुनिश्चित गर्नुपर्ने बताए। प्रदर्शनमा महिला, वृद्ध र युवाहरूको समेत सहभागिता रहेको थियो। सरकारी पक्षले भने औद्योगिक क्षेत्र विस्तारका लागि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।







