पशुपति गौशाला धर्मशाला जग्गा विवाद : उच्च अदालतले मोही हक अस्वीकार गर्दै कोषको स्वामित्व कायम
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालासँग सम्बन्धित जग्गा विवादमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले मारवाडी सेवा समिति लाई उक्त जग्गामा मोहिनी हक नलाग्ने ठहर गरेको हो।
न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ। यससँगै पशुपति गौशाला धर्मशालाको जग्गा पुनः पशुपति क्षेत्र विकास कोष को स्वामित्वमा जाने भएको छ।
अदालतले लामो समयदेखि समितिले प्रयोग गर्दै आएको उक्त गुठी जग्गामा मोही हक पुष्टि हुने पर्याप्त प्रमाण पेश नभएको निष्कर्ष निकालेको छ। साथै, समितिले विगतमा गरेको सम्झौताका आधारमा पनि उक्त जग्गामा स्वामित्व दाबी गर्न नमिल्ने अदालतको ठहर छ।
फैसलामा सो जग्गा गुठीअन्तर्गत पर्ने र पशुपति अमालकोट कचहरीमा दर्ता भएको तथ्यमा विवाद नभएको उल्लेख गरिएको छ। तर, मोही हक भएको दाबीलाई पुष्टि गर्ने प्रमाण अभावका कारण समितिको दाबी अस्वीकार गरिएको अदालतले जनाएको छ। यो फैसलासँगै वर्षौंदेखि विवादमा रहेको पशुपति गौशाला धर्मशालाको जग्गा प्रकरण टुंगो लाग्ने दिशामा पुगेको छ।







