मौसममा बदली, केही क्षेत्रमा वर्षा र तराईमा अत्यधिक गर्मीको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मौसममा बदली, केही क्षेत्रमा वर्षा र तराईमा अत्यधिक गर्मीको चेतावनी

काठमाडौ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ। यसको प्रभावले देशका धेरै ठाउँमा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मौसम बदली रहेको छ।

हाल कोशी र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का पानी परेको छ। आज दिनभर कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

यता पश्चिम नेपालका तराई क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने चेतावनी दिइएको छ। विशेषगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा ‘लू’ चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।