अमेरिका–इरान वार्ताको असर, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिका–इरान वार्ताको असर, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौ । अमेरिका र इरान बीच शान्ति सम्झौताको सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। सोमबार तेलको मूल्य दुई सातायताकै न्यून स्तरमा पुगेको हो।

सकारात्मक वार्ताले विश्व बजारमा राहतको संकेत दिएको विश्लेषण गरिएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजमा जारी अवरोध हट्न सक्ने आशाले तेलको मूल्य घटाउन मद्दत गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.७१ डलरले घटेर ९८.८३ डलरमा पुगेको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि ९२.०३ डलरमा झरेको छ। यो मूल्य मे ७ यताकै सबैभन्दा कम हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच धेरै विषयमा सहमति नजिक पुगेको बताएका थिए। सम्झौता भएमा होर्मुज जलमार्ग फेरि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

विश्वभर ढुवानी हुने ठूलो परिमाणको तेल र एलएनजी यही जलमार्ग हुँदै जाने भएकाले यस क्षेत्रमा देखिएको तनावले विश्व बजारमा असर पारिरहेको छ।

विश्लेषकहरूका अनुसार वार्ताबाट सकारात्मक संकेत आए पनि सबै समस्या तत्काल समाधान हुने अवस्था छैन। जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन र क्षतिग्रस्त संरचना मर्मत हुन अझै समय लाग्न सक्ने बताइएको छ।