मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
बिहीबार प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा कांग्रेसले आयोगका सिफारिसहरू संवैधानिक दायराभित्र रही लागू गर्नुपर्ने बताएको हो। साथै प्रतिवेदनबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।
कांग्रेसले आन्दोलनका क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोग र हिंसात्मक गतिविधिमा संलग्न भनिएका व्यक्ति तथा निकायमाथि राजनीतिक दबाबबिना कानुनी कारबाही गर्न माग गरेको छ। पार्टीले घटनामा ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारलाई न्याय, राहत र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने पनि जनाएको छ।
त्यस्तै आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा राज्यले जिम्मेवारी लिएर बिमा वा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ। सुरक्षा निकायलाई मानव अधिकारमैत्री र आधुनिक बनाउन आवश्यक सुधार गर्नुपर्ने विषय पनि कांग्रेसले उठाएको छ।
विज्ञप्तिमा विगतमा गठन गरिएको गौरीबहादुर कार्की आयोगको अनुसन्धानलाई पनि मानव अधिकार आयोगले अपूर्ण भनेको उल्लेख गर्दै त्यसबारे थप अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।







