प्राइम टिभी नवौँ वर्षमा प्रवेश, दर्शकप्रति आभार व्यक्त
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्राइम टिभी आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा टेलिभिजनले दर्शक, विज्ञापनदाता तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।
आठ वर्षअघि प्रसारण सुरु गरेको प्राइम टिभीले समाचार, समसामयिक कार्यक्रम, अन्तर्वार्ता, मनोरञ्जन तथा सामाजिक विषयवस्तु प्रस्तुत गर्दै आएको जनाएको छ । छोटो समयमै दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी टेलिभिजनको छ ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकको सहभागिता रहेको थियो । कार्यक्रममा टेलिभिजन व्यवस्थापनले आगामी दिनमा अझ विश्वसनीय, तथ्यपरक र प्रभावकारी सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्राइम टिभीले डिजिटल माध्यममा पनि आफ्नो उपस्थितिलाई विस्तार गर्दै दर्शकमाझ थप प्रभावकारी रूपमा पुग्ने योजना रहेको जनाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको छ ।







