गणतन्त्र र संविधानको रक्षा गर्न प्रचण्डको आह्वान

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणतन्त्र र संविधानको रक्षा गर्न प्रचण्डको आह्वान

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधान र गणतन्त्रका उपलब्धिमाथि कुनै सम्झौता गर्न नहुने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गरेका छन् ।

प्रचण्डले संविधान कुनै एक दल वा व्यक्तिको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका छन् । उनले संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य र गणतन्त्रको उपलब्धिबाट पछि हट्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन् ।

उनले संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । जनताको अधिकार, समावेशिता र सामाजिक न्यायलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रचण्डले “गणतन्त्रको विकल्प अझ राम्रो गणतन्त्र” भएको उल्लेख गर्दै समावेशी र समानुपातिक व्यवस्थालाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।

देशमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।