इरानसँगको सम्झौताबारे अझै निर्णय भएको छैन : अमेरिका
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग प्रारम्भिक सम्झौता हुने वा नहुने कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा निर्भर रहने बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले ट्रम्प अमेरिकाका लागि खराब सम्झौता नगर्ने बताएका हुन् । उनका अनुसार अहिले पनि अमेरिका र इरानबीच वार्ता जारी छ ।
बेसेन्टले होर्मुज जलमार्गमा कुनै नयाँ टोल नलगाइने आश्वासन प्राप्त भएको पनि बताएका छन् । यसअघि अमेरिकाले ओमानले इरानलाई सहयोग गरे कडा कदम चाल्ने चेतावनी दिएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँगको समझदारीपत्रमा अझै अन्तिम निर्णय नभएको बताएका छन् । उनले केही विषयमा अझै छलफल भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार इरानको आणविक कार्यक्रम र संवर्धित युरेनियमको विषयमा अझै सहमति हुन बाँकी छ । भान्सले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए पनि अहिले नै सम्झौता हुने निश्चित नभएको बताएका छन् ।
हाल युद्धविराम कायम रहे पनि अमेरिकाले आवश्यक परे रक्षात्मक आक्रमण गर्न सक्ने जनाएको छ । यता युद्ध लम्बिँदा अमेरिकामा तेल, पेट्रोल र डिजेलको भण्डारण घट्दै गएको बताइएको छ ।







