राष्ट्रपति पौडेलको आह्वान : सुशासन र नैतिक राजनीतिबाट मात्र गणतन्त्र बलियो हुन्छ

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेलको आह्वान : सुशासन र नैतिक राजनीतिबाट मात्र गणतन्त्र बलियो हुन्छ

काठमाडौ । १९औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन र राजनीतिक नैतिकताको सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको बताएका छन्। शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रले नेपाली जनतालाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले गणतन्त्रले देशलाई एकताबद्ध बनाउँदै साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको बताए। “गणतन्त्रले हामीलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो राष्ट्र निर्माणको महान् प्रेरणा हो,” उनले भने।

उनले राजनीतिक व्यवस्था परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै राज्य सञ्चालनको शैली, नेतृत्वको आचरण र राजनीतिक मूल्यमान्यतामा समेत परिवर्तन आवश्यक रहेको धारणा राखे। ढिलासुस्ती, अनियमितता र बेथितिलाई देशको सबैभन्दा ठूलो समस्या भन्दै उनले यिनै कारण नागरिकमा निराशा बढ्न सक्ने चेतावनी दिए।

राष्ट्रपतिले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई सरकारको प्राथमिकता बन्नुपर्ने बताए। उनले नागरिकको जीवनमा आशा र समृद्धिको अनुभूति दिलाउन राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक अधिकारसँगै सामाजिक न्याय, आर्थिक अवसर र सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरेको छ। उनले स्थानीय र प्रदेश सरकारमार्फत जनताको घरआँगनबाटै लोकतन्त्रको अभ्यास भइरहेको भन्दै लोकतन्त्रको अन्तिम मालिक जनता नै भएको मान्यता अझ बलियो बन्दै गएको बताए।

राष्ट्रपति पौडेलले प्राप्त उपलब्धिलाई संस्थागत गर्न राजनीतिक दल, सरकार र नेतृत्व जनउत्तरदायी, विनयशील तथा परिणाममुखी बन्नुपर्नेमा जोड दिए। उनले गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।