राजदूत पदका लागि आवेदन खुला
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि खाली रहेका नेपालको राजदूत पदमा आवेदन खुला गरेको छ। मन्त्रालयले योग्य नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार इच्छुक व्यक्तिले आफैं आवेदन दिन सक्नेछन्। साथै अन्य व्यक्ति वा संस्थाले पनि योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको छ।
राजदूत बन्नका लागि उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ। मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विदेशी मुलुकको पीआर वा अन्य आवासीय सुविधा लिएको व्यक्ति भने आवेदन दिन योग्य हुने छैन।
अंग्रेजी भाषामा राम्रो ज्ञान भएको र सम्बन्धित देशको भाषा जान्ने उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी मुद्दामा सजाय पाएका, सरकारी सेवाबाट बर्खास्त भएका तथा कालोसूचीमा परेका व्यक्ति राजदूत बन्न अयोग्य हुनेछन्।
मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, कानुन, अर्थशास्त्र र जनप्रशासन क्षेत्रमा अनुभव तथा उच्च शिक्षा भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। राजदूतले विदेशमा नेपालको प्रतिनिधित्व गर्ने, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकको सेवा र सुरक्षाका लागि काम गर्नुपर्नेछ।






