गणतन्त्रलाई नयाँ दिशातर्फ लैजानुपर्ने आवश्यकता : बाबुराम भट्टराई

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणतन्त्रलाई नयाँ दिशातर्फ लैजानुपर्ने आवश्यकता : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र दिवस २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन्।

शुभकामना सन्देश दिँदै उनले देशलाई नयाँ युग र नयाँ पुस्ताको आकांक्षाअनुसार अझ उन्नत दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भट्टराईले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न समुदायका संघर्ष र बलिदानको जगमा स्थापना भएको स्मरण गराएका छन्।

उनका अनुसार गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको ऐतिहासिक उपलब्धि हो। पूर्वप्रधानमन्त्री भट्टराईले संविधानका केही कमजोरी र राज्य संरचनाका समस्याहरूलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले उत्पादनमुखी अर्थतन्त्र, सुशासन, विज्ञान–प्रविधि, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर मात्र गणतन्त्रलाई सार्थक बनाउन सकिने बताएका छन्। उनले यस गणतन्त्र दिवसले विगतका संघर्ष र बलिदानलाई सम्मान गर्दै नयाँ सोच र राष्ट्रिय दृष्टिको साथ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।