मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
पार्टी स्थापनाको ३६ वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनमा दोषी देखिएका व्यक्तिहरूले कानुनी प्रक्रिया अघि बढाएर सफाइ लिनुपर्ने बताएका छन्। लिङ्देनले उक्त प्रतिवेदन नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय निकायहरूको अभिलेखमा पनि रहने भएकाले यसको गम्भीरता उच्च रहेको बताए।
‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन,’ उनले भने ।
उनले प्रतिवेदनमा उठाइएका विषयहरू गम्भीर भएकाले सरकारले ढिलाइ नगरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।







