२०२६ विश्वकपअघि इरानको सहभागितामाथि भिसा अनिश्चितता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने २०२६ फिफा विश्वकप नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोलीको सहभागितामाथि अमेरिकी भिसा प्रक्रिया अनिश्चित बनेको छ।
मेक्सिकोस्थित इरानका राजदूत अबोलफजल पसान्दिदेहका अनुसार टोलीले अहिलेसम्म अमेरिका प्रवेशका लागि आवश्यक भिसा प्राप्त गरेको छैन। उनले इरानलाई समान व्यवहार नभएको गुनासो पनि गरेका छन्।
प्रारम्भमा इरानी टोलीको प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनमा राख्ने योजना भए पनि अहिले त्यो मेक्सिकोमा सारिएको छ। राजदूतका अनुसार अहिले पनि अमेरिकी भिसा स्वीकृत हुन्छ वा हुँदैन भन्ने स्पष्ट अवस्था छैन।
तालिकाअनुसार इरानले लस एन्जलस र सियाटललगायत स्थानमा समूह चरणका खेल खेल्ने कार्यक्रम छ। तर भिसा प्रक्रिया अनिश्चित हुँदा टोलीको सहभागितामाथि प्रश्न उठेको छ। यसअघि इरानले सुरक्षा कारण देखाउँदै आफ्ना खेलहरू मेक्सिकोमा सार्न फिफासँग आग्रह गरेको थियो। तर फिफाले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने बताएका छन्। फिफाका अनुसार छनोट पार गरेका टोलीलाई प्रतियोगिताबाट हटाउन सहज हुँदैन। इरान र अमेरिकाबीच खेलमैदानमा पुरानो प्रतिस्पर्धा रहेको छ। सन् १९९८ को विश्वकपमा इरानले अमेरिका पराजित गरेको थियो भने २०२२ मा अमेरिका विजयी भएको थियो।
अहिले भिसा प्रक्रिया टुंगो नलागेसम्म इरानी टोलीको विश्वकप यात्रा अन्योलमै रहने देखिएको छ।







