उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच ७ बुँदे सहमति, एकता प्रक्रिया अघि बढाइयो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। दुई दलबीच आज ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकता प्रक्रियालाई अघि बढाइएको हो।
सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुवै पक्षले पार्टी एकतालाई संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक शक्तिको निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
सहमति अनुसार दुवै पार्टीले अब संयुक्त रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्नेछन्। संगठन विस्तार, कार्यकर्ता समायोजन, नेतृत्व संरचना र आगामी राजनीतिक कार्यदिशाका विषयमा विस्तृत सहमति भएको बताइएको छ।
दुवै दलले एकतापछि साझा राजनीतिक संरचना निर्माण गर्ने, जिल्ला तथा स्थानीय तहसम्म संगठन समायोजन गर्ने र नयाँ नीति तथा कार्यक्रम तयार गर्ने सहमति गरेका छन्। सहमति पत्रमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन गर्न संयुक्त कार्यदल गठन गर्ने तयारी पनि गरिएको छ। सो कार्यदलले संगठन एकीकरण, जिम्मेवारी बाँडफाँड र आगामी महाधिवेशनसम्बन्धी तयारी गर्नेछ।
दुवै पक्षका नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार नयाँ एकताले जनस्तरमा संगठनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टी एकता प्रक्रिया औपचारिक रूपमा अगाडि बढे पनि नाम, चुनाव चिन्ह र नेतृत्व संरचनाबारे अन्तिम निर्णय भने आगामी बैठकबाट टुंगो लगाइने बताइएको छ।









