गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरू अनुपस्थित, निमन्त्रणा नगरिएको खुलासा

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरू अनुपस्थित, निमन्त्रणा नगरिएको खुलासा

काठमाडौ । गणतन्त्र दिवस २०८३ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई औपचारिक निमन्त्रणा नआएको पाइएको छ।

शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू सहभागी भएनन्। कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, सुशीला कार्की र लोकेन्द्रबहादुर चन्द अनुपस्थित रहे।

देउवा उपचारका लागि विदेशमा रहेको बताइएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई यस पटक कुनै औपचारिक निमन्त्रणा नआएको बताएका छन्। उनले विगतका वर्षमा निमन्त्रणा आउने गरे पनि यस पटक नआएको पुष्टि गरेका छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा नआएको जनाएको छ। उनलाई प्रतिनिधिसभा सदस्यको हैसियतमा मात्र पत्र आएको बताइएको छ। समारोहमा यस पटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए। परम्पराअनुसार पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन भए पनि यस पटक प्रधानमन्त्रीको सम्बोधन नभएको देखिएको छ।