विद्युतमा भ्याट लगाउने निर्णयको विरोध, कुलमानले सरकारलाई दिए चेतावनी

User Image Prime TV News ६ दिन अगाडि
Image of विद्युतमा भ्याट लगाउने निर्णयको विरोध, कुलमानले सरकारलाई दिए चेतावनी

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत उपभोक्तामाथि भ्याट लगाउने सरकारको निर्णयको विरोध गरेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत प्रयोग गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै घिसिङले सरकारको कदम आम नागरिकको हितविपरीत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।

घिसिङका अनुसार अहिले देशभर घरायसी प्रयोजनमा विद्युत प्रयोग बढ्दै गएको छ। खाना पकाउने, पानी तताउने र अन्य काममा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले थप कर लगाएर उपभोक्तालाई निरुत्साहित गरेको उनले बताएका छन्।

उनले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य परिवार नै रहेको उल्लेख गर्दै यो निर्णयले लाखौं घरपरिवारको मासिक खर्च बढाउने दाबी गरेका छन्।

विद्युत प्रयोग महँगो बनेपछि उपभोक्ता फेरि ग्यासतर्फ फर्किन सक्ने भन्दै उनले यसले स्वदेशमै उत्पादित ऊर्जाको खपत घट्ने चेतावनी दिएका छन्।

घिसिङले सरकारको यो नीतिले ऊर्जा सुरक्षा, व्यापार घाटा घटाउने प्रयास र हरित अर्थतन्त्र निर्माणको लक्ष्यमा समेत नकारात्मक असर पार्ने बताएका छन् ।