चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

User Image Prime TV News एक महिना अगाडि
Image of चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने सपना अधुरै बनेको छ। एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा चीनसँग ५ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

मलेसियाको बायोमास ओभलमा आइतबार बिहान सम्पन्न खेल वर्षाका कारण ७–७ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेट गुमाउँदै ५० रन बनाएको थियो।

नेपालका लागि कविता कुवँरले आक्रामक ब्याटिङ गर्दै १० बलमा २२ रनको अविजित इनिङ्स खेलिन्। उनले एक चौका र एक छक्का प्रहार गरिन्। कप्तान इन्दु बर्माले ११ रन जोडिन् भने रुविना क्षेत्री ३ रनमा अविजित रहिन्। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

वर्षाका कारण डीएलएस प्रणालीअनुसार चीनले ४३ रनको संशोधित लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा चीनले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। चीनका लागि मिङयु झुले सर्वाधिक १८ रन बनाइन्। अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेको अवस्थामा काई युझीले चौका प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाइन्।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने चीनका दुई ब्याटर रनआउट भए। सुरुआती दबाब सिर्जना गरे पनि नेपाल अन्तिम क्षणमा खेल आफ्नो पक्षमा पार्न असफल रह्यो। यस जितसँगै चीनले आगामी एसियन गेम्समा स्थान सुरक्षित गरेको छ। पराजयसँगै नेपाली महिला टोलीको एसियन गेम्समा छनोट हुने अन्तिम सम्भावना पनि समाप्त भएको छ।