बालेन शाहको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति, माफी माग्न माग
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। खनालले उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी, गम्भीर र गलत भएको टिप्पणी गर्दै प्रधानमन्त्री पदको मर्यादासँग नसुहाउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले “नेपालले पनि भारतको केही भूमि मिचेको छ” भन्ने प्रधानमन्त्रीको भनाइले देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको राष्ट्रिय भावनामाथि आघात पुगेको दाबी गरेका छन्। उनले यस्तो अभिव्यक्ति कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा दिइएको हो भन्ने प्रश्नसमेत उठाएका छन्।
खनालले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको बताएका छन्। उनले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म उक्त अभिव्यक्तिको विरोध र भर्त्सना जारी राख्न देशभक्त नागरिक तथा राजनीतिक शक्तिहरूलाई आग्रह गरेका छन्।
यसैबीच, खनालले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन सभामुखसँग पनि माग गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दुवै देशले अध्ययन र संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका थिए।
उनको उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक वृत्तमा बहस र प्रतिक्रिया सुरु भएको छ।







