प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट नहटाए सम्म संसदको काम अघि नबढाउन नेकपाको आग्रह
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सोमबार प्रतिनिधिसभामा कडा विरोध भएको छ। विपक्षी दलहरूले उक्त भनाइ फिर्ता नभएसम्म संसद अघि नबढाउने चेतावनी दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले बैठकमा बोल्दै प्रधानमन्त्रीले “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्ति तथ्यहीन र राष्ट्रहितविपरीत भएको बताए। उनले यस्तो विषयमा प्रधानमन्त्रीले गलत धारणा राख्नु गम्भीर गल्ती भएको टिप्पणी गरे।
दुलालले परराष्ट्र मन्त्रालयले पनि सीमासम्बन्धी विषयलाई गलत रूपमा व्याख्या गरेको आरोप लगाए। उनका अनुसार लिपुलेक क्षेत्रमा नेपालले भारतको भूमि मिचेको भन्ने कुनै तथ्य छैन, तर भारतले नेपाली भूमि अतिक्रमण गरेको प्रमाणित तथ्य रहेको उनले बताए।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन माग गर्दै माग पूरा नभएसम्म संसदको काम अघि नबढाउन आग्रह गरे। यसैबीच, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नसक्ने बताए। उनका अनुसार यस्तो संवेदनशील विषयमा जिम्मेवार पदमा बसेकाले तथ्यका आधारमा मात्र बोल्नुपर्ने हुन्छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदभित्र तनाव बढ्दै गएको छ ।







