बजेटपछि पहिलो कारोबारमै शेयर बजार घट्यो

User Image Prime TV News ४ दिन अगाडि
Image of बजेटपछि पहिलो कारोबारमै शेयर बजार घट्यो

काठमाडौ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिनमै शेयर बजार घटेको छ। आज नेप्से परिसूचक २६.७२ अंकले घटेर २,७५५ विन्दुमा झरेको छ।

आज बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको मूल्य घटेको छ। यसले बजारमा बिक्री चाप बढी रहेको देखाएको छ। दिनभर ३४९ कम्पनीका १ करोड ३३ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र रिडी पावरको पनि ठूलो मात्रामा कारोबार भएको छ। आजको कारोबारमा नेपाल रिइन्स्योरेन्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। त्यस्तै केही फाइनान्स र बैंकसम्बन्धी इकाईका लगानीकर्ताले पनि नाफा आर्जन गरेका छन्।

तर बुङगल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। विश्लेषकहरूका अनुसार बजेटपछि लगानीकर्ताको अपेक्षा र बजारको प्रतिक्रिया फरक हुँदा शेयर बजारमा गिरावट आएको हो।