मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

User Image Prime TV News ३ दिन अगाडि
Image of मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। नागरिकता र लिखतसम्बन्धी कसुरको आरोपमा अदालतमा उपस्थित गराइएका सिंहलाई धरौटीमा छाड्न आदेश भएको हो।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ। अदालतको आदेशपछि सिंह धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्। धरौटी बुझाएपछि उनी रिहा हुनेछन्।

सिंहविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले उनलाई सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। उनीमाथि अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा जन्मदर्ता गराई त्यसकै आधारमा नागरिकता र राहदानी बनाउन सहयोग गरेको आरोप छ। यही घटनासँग सम्बन्धित मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ।

यस प्रकरणमा सिन्धुपाल्चोककी रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय पनि आरोपित छन्। उनीहरूमाथि पनि लिखतसम्बन्धी कसुरको मुद्दा चलिरहेको छ। अदालतमा मुद्दाको थप सुनुवाइ जारी रहनेछ भने अन्तिम फैसला आउन बाँकी छ। अहिलेको आदेशले भने मेयर सिंहलाई धरौटीमा रिहा हुने बाटो खोलेको छ।