पश्चिमी न्यून चापीय प्रभावः पहाडमा वर्षा, तराईमा तातो लहरको जोखिम
Prime TV News १७ घण्टा अगाडि 
काठमाडौ । मुलुकमा हाल पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा तातो लहरको अवस्था देखिन सक्ने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी प्रदेशसहित पहाडी र हिमाली भू–भागमा बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता तराई क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने संकेत देखिएको छ। विशेषगरी मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
तातो लहरको जोखिमबाट बच्न दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न, हल्का र सुती कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ। बाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्न पनि आग्रह गरिएको छ।
महाशाखाले रातिको समयमा पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ।







