युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्कीको प्रस्ताव

User Image Prime TV News १७ घण्टा अगाडि
Image of युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्कीको प्रस्ताव

काठमाडौ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समक्ष प्रत्यक्ष भेटवार्ताको प्रस्ताव राख्दै युद्ध अन्त्यका लागि नयाँ पहल गरेका छन्।

खुला पत्रमार्फत उनले युक्रेन र रुस बीच प्रत्यक्ष संवादबाट मात्रै समाधान सम्भव हुने बताएका हुन्। जेलेन्स्कीले युद्ध जारी रहँदा अमेरिकाको ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भएको उल्लेख गर्दै युरोपको युद्धलाई बेवास्ता गरेर बस्न नहुने बताएका छन्।

उनले 'अमेरिकाको प्राथमिकतामा फेरि यो युद्ध फर्किने प्रतीक्षामा बस्नु गलत हुनेछ' भन्दै तत्काल वार्ताको आवश्यकता औंल्याएका छन्।

उनले प्रस्तावित वार्ता सम्पन्न नहुँदासम्म पूर्ण युद्धविराम गर्न पनि आग्रह गरेका छन्। 'युक्रेन प्रत्यक्ष संवादमार्फत यो युद्ध अन्त्य गर्न चाहन्छ। म बैठकको प्रस्ताव गर्दछु,' उनले पत्रमा उल्लेख गरेका छन्।

यद्यपि, रुसी राष्ट्रपति पुटिनले यसअघि नै तत्काल युद्धविरामको सम्भावना अस्वीकार गरिसकेका छन्। तर हालै सेन्ट पिटर्सबर्गमा विदेशी पत्रकारसँग कुरा गर्दै उनले युक्रेनसँग सम्झौता गर्न आफू तयार रहेको बताएका छन्। उनका अनुसार कुनै पनि सहमतिका लागि दुवै पक्षले लचकता अपनाउनुपर्नेछ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनबीच सम्भावित भेटवार्तालाई सकारात्मक रूपमा लिँदै यस्तो संवाद उत्कृष्ट हुने बताएका छन्।

क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे पुटिनलाई जानकारी गराइने जनाएको छ। साथै, मस्कोले जेलेन्स्कीलाई रूस आएर प्रत्यक्ष भेट गर्न खुला रहेको संकेत पनि दिएको छ।

जेलेन्स्कीको पत्रमा केही व्यङ्ग्यात्मक टिप्पणी पनि समावेश गरिएको छ। उनले हालैका युक्रेनी आक्रमणको प्रसंग जोड्दै पुटिनमाथि कटाक्ष गरेका छन्। '२६ वर्षसम्म सत्तामा रहँदा पुटिनमाथि उमेरको असर देखिन थालेको छ,' उनले लेखेका छन्।

लामो समयदेखि जारी युद्धका बीच दुवै पक्षबाट संवादको संकेत आए पनि वास्तविक सहमति र युद्ध अन्त्य अझै अनिश्चित देखिएको छ।