बिदा सकिएपछि कार्यालय नफर्किने कर्मचारीमाथि कारबाही हुने
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा र असाधारण बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार केही कर्मचारी बिदा अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएको, सम्पर्कमा नरहेको तथा व्यक्तिगत विवरण अद्यावधिक नगरेको गुनासो प्राप्त भएको छ। यसपछि मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई आफ्नो अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको हो।
साथै, विभिन्न मन्त्रालय, आयोग, सचिवालय र केन्द्रीय कार्यालयलाई पनि बिदामा रहेका कर्मचारीहरूको अवस्था यकिन गरी अभिलेख अद्यावधिक गर्न भनिएको छ। मन्त्रालयले बिदा सकिएपछि पनि कार्यालयमा नफर्किने वा लामो समयसम्म सम्पर्कमा नआउने कर्मचारीमाथि कानुनअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।
सरकारले निजामती सेवाको अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको बताएको छ।







