संविधान संशोधनमा रेग्मीको सुझाव: मूल मर्म नबिगार्न आग्रह
Prime TV News ११ घण्टा अगाडि 
काठमाडौ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म र प्रस्तावनालाई जोगाउनुपर्ने सुझाव दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्। रेग्मीले संविधानको आधारभूत संरचना कुनै पनि हालतमा नखण्डित हुनुपर्ने बताए। धार्मिक व्यवस्थासम्बन्धी हालको प्रावधानलाई यथावत् राख्नुपर्ने उनको सुझाव छ।
उनले शासकीय प्रणालीबारे हतारमा निर्णय नगर्न आग्रह गर्दै स्थायित्वको नाममा निरंकुशता वा सर्वसत्तावादको जोखिम हुन सक्ने चेतावनी दिए। संविधानको सरकार गठनसम्बन्धी व्यवस्थालाई व्यवहारिक बनाउन पनि उनले सुझाव दिएका छन्। अविश्वासको प्रस्तावमा हाल रहेको दुई वर्षको सीमा घटाएर ६ महिनामा झार्न उपयुक्त हुने उनको भनाइ छ।
त्यस्तै, समानुपातिक सांसदको संख्या घटाउनुपर्ने, पहिले उच्च पदमा पुगेका व्यक्तिलाई पुनः समानुपातिकबाट सांसद बनाउने अभ्यास रोक्नुपर्ने सुझाव पनि उनले दिएका छन्। प्रतिनिधिसभा सदस्य बन्न उमेर २१ वर्ष र राष्ट्रियसभा सदस्यका लागि ३० वर्ष तोक्नुपर्ने पनि रेग्मीको प्रस्ताव छ।
मानवअधिकार आयोगलाई मुख्य आयोगका रूपमा राखेर अन्य आयोगलाई शाखा संरचनामा रूपान्तरण गर्न सकिने तथा अनावश्यक आयोगहरू घटाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।







