कुलमान घिसिङको आरोप: विद्युत् महशुल घटाउनुपर्नेमा सरकारले भ्याट थपेर महँगी बढायो
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत् महशुल घटाउनुपर्ने अवस्थामा उल्टै कर बढाएर महँगी सिर्जना गरेको आरोप लगाएका छन्।
उज्यालो नेपाल पार्टी को युवा तथा विद्यार्थी विभागद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए। उनका अनुसार यस्तो नीतिले औद्योगिक उत्पादनदेखि उपभोक्ता मूल्यसम्म असर पार्नेछ।
घिसिङले आफ्नो कार्यकालमा नेपाल विद्युत् प्राधिकरण घाटामा रहेको अवस्थामा पनि तीन पटक गरी करिब २५ प्रतिशत विद्युत् महशुल घटाएको दाबी गरे। उनका अनुसार करिब २५ अर्ब रुपैयाँ बराबरको महसुल घटाइए पनि प्राधिकरण पछि नाफामा गएको थियो।
उनले हाल जलविद्युत् उत्पादन बढ्दै गइरहेकाले विद्युत् सस्तो हुनुपर्ने समय भए पनि सरकारले उल्टो बाटो लिएको टिप्पणी गरे। “विद्युत्मा ५ प्रतिशत भ्याट लगाइएको छ, जबकि भारतमा यस्तो कर छैन,” भन्दै उनले यसको असर उत्पादन लागत र समग्र महँगीमा पर्ने दाबी गरे।
त्यसैगरी उनले शिक्षा, स्वास्थ्य तथा सेयर कारोबार जस्ता क्षेत्रमा पनि करको दायरा बढाइएको भन्दै त्यसले निम्न र मध्यम वर्गलाई बढी दबाब परेको टिप्पणी गरे। घिसिङका अनुसार हालको बजेटले उच्च तथा मध्यम वर्गलाई बढी फाइदा पुर्याउने तर निम्न वर्गका समस्या सम्बोधन नगर्ने खालको देखिएको छ।







