महाधिवेशनको तयारी तीव्र, रास्वपाले ७७ जिल्लामा निर्वाचन समिति गठन
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी जिल्ला अधिवेशनका लागि देशभरका ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार र आइतबार हुने अधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन निर्वाचन समिति परिचालन गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनको कार्यतालिका अनुरूप जिल्लास्तरका गतिविधि अघि बढिरहेका छन्। निर्वाचन समितिले सम्बन्धित जिल्लामा अधिवेशन सम्पन्न गराई नेतृत्व चयन प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको छ।
यद्यपि बागमती र मधेस प्रदेशका केही पालिकामा प्राप्त उजुरीका कारण त्यहाँका अधिवेशन प्रभावित भएका छन्। आयोगले केही स्थानमा अधिवेशन स्थगित गरेको तथा कतिपय क्षेत्रमा पुनः निर्वाचन गराउन निर्देशन दिएको जनाएको छ।
पार्टी विधानअनुसार जिल्ला अधिवेशनबाट सभापति, उपसभापति, सचिव, सहसचिव, पाँच जना समावेशी सदस्य तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचित समितिबाट सभापतिले एक जना कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ। साथै जिल्ला समितिलाई बिजोर बनाउन थप दुई वा तीन जना सदस्य मनोनयन गर्न सकिने प्रावधान पनि रहेको छ।
रास्वपाले यसअघि प्रदेश अधिवेशनको तयारीका लागि विभिन्न प्रदेशमा समन्वय तथा निर्वाचन व्यवस्थापनको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई तोकेको थियो। कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा आवश्यक संरचना गठन भइसकेको पार्टीले जनाएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। पार्टीले जिल्ला र प्रदेश अधिवेशनमार्फत प्रतिनिधि चयन गरी महाधिवेशनलाई संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ।







