धवलशमशेर राणा र दुर्गा प्रसाईबीच नयाँ दल बनाउने सहमति
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाईले नयाँ राजनीतिक दल बनाउने सहमति गरेका छन्।
उनीहरूले शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर गर्दै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका हुन्। सहमति अनुसार नयाँ दलले हिन्दु धर्म, राजसंस्था पुनर्स्थापना र राष्ट्रवादी विचारलाई मुख्य आधार बनाउने बताइएको छ। उनीहरूले संवैधानिक राजसंस्था पुनः ल्याउनुपर्ने विषयलाई पनि जोड दिएका छन्।
त्यस्तै, सहमतिमा पृथ्वीनारायण शाहका विचारलाई आधार मानेर राजनीतिक कार्यक्रम अघि बढाउने उल्लेख छ। उनीहरूबीच संघीयता सुधार गर्ने, दोहोरो नागरिकताको व्यवस्था राख्ने र “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने अवधारणा अघि बढाउने विषयमा पनि सहमति भएको छ।
उनीहरूले विचार मिल्ने अन्य समूह र व्यक्तिहरूलाई पनि समेटेर नयाँ दल घोषणा गर्ने बताएका छन्। नयाँ दलको नाम र औपचारिक घोषणा भने पछि सार्वजनिक गरिनेछ।









