रास्वपाको देशभर जिल्ला अधिवेशन सुरु, दुई दिनमा ६६ जिल्लामा नेतृत्व चयन गर्ने तयारी

User Image Prime TV News एक घण्टा अगाडि
Image of रास्वपाको देशभर जिल्ला अधिवेशन सुरु, दुई दिनमा ६६ जिल्लामा नेतृत्व चयन गर्ने तयारी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्गठनात्मक नीति अनुसार आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार आज र भोलि गरी अधिकांश जिल्लामा अधिवेशन सञ्चालन हुनेछन्।

आज पहिलो चरणमा ३६ जिल्लामा अधिवेशन हुन लागेको छ। कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेशन हुँदैछ भने मधेश प्रदेशका महोत्तरी र रौतहटमा पनि आजै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।

त्यस्तै बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र दोलखामा अधिवेशन आयोजना गरिएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा पनि जिल्ला अधिवेशन चलिरहेको छ।

लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा समेत आज अधिवेशन हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

भोलि दोस्रो चरणमा कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेशका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुरमा अधिवेशन हुनेछ।

त्यसैगरी गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्युठान तथा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लामा पनि भोलि अधिवेशन आयोजना गरिएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा समेत भोलि जिल्ला अधिवेशन हुनेछ।

पार्टीका अनुसार विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ। रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६६ जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः गरिने जनाइएको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन पनि सुरु गरिनेछ। पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु हुने तयारी रहेको उनले बताएका छन् ।