अमेरिका र इरानबीच फेरि तनाव, ड्रोन र क्षेप्यास्त्र आक्रमणपछि खाडी क्षेत्रमा त्रास

User Image Prime TV News एक घण्टा अगाडि
Image of अमेरिका र इरानबीच फेरि तनाव, ड्रोन र क्षेप्यास्त्र आक्रमणपछि खाडी क्षेत्रमा त्रास

काठमाडौ । अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढेको छ। दुवै देशले एकअर्काविरुद्ध आक्रमण गरेपछि खाडी क्षेत्रमा डर र चिन्ता बढेको हो।

अमेरिकी सैन्य कमान्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले होर्मुज जलमार्गतर्फ आएका इरानी चारवटा आत्मघाती ड्रोन खसालिएको जनाएको छ। अमेरिकाका अनुसार ती ड्रोनले समुद्री सुरक्षामा खतरा पुर्‍याएका थिए।

ड्रोन खसालेपछि अमेरिकी सेनाले इरानका गोरुक र क्युसम टापुमा रहेका रडार केन्द्रमा पनि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले आफू उच्च सतर्कतामा रहेको र आवश्यक परे थप जवाफ दिन तयार रहेको चेतावनी दिएको छ।

यसअघि एक अमेरिकी अधिकारीले इरानले धेरै ड्रोन प्रहार गरेको बताएका थिए। तर हालसम्म कुनै जहाजमा क्षति पुगेको खबर आएको छैन। यसैबीच इरानले कुवेत र बहराइन तर्फ सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी दाबी छ। तीमध्ये छवटा बीचमै खसालिएको र एउटा लक्ष्यसम्म पुग्न नसकेको जनाइएको छ।

कुवेत र बहराइनमा सुरक्षा सतर्कता बढाइएको छ। बहराइन सरकारले देशभर साइरन बजाएर नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। लगातार बढिरहेको तनावका कारण मध्यपूर्व क्षेत्रमा फेरि ठूलो द्वन्द्व चर्किन सक्ने चिन्ता बढेको छ।