फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिने १० विशेषता

User Image Prime TV News एक घण्टा अगाडि
Image of फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिने १० विशेषता

काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ अब नजिकिँदै गएको छ ।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यस पटक केवल उपाधि प्रतिस्पर्धाका कारण मात्र होइन, नयाँ ढाँचा र ऐतिहासिक परिवर्तनका कारण पनि विशेष बन्ने भएको छ । फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।

यस पटकको विश्वकपमा क्यानडाले पहिलो पटक पुरुष विश्वकपका खेल आयोजना गर्नेछ । अमेरिका र मेक्सिकोले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेका छन् । मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्नेछ भने मेक्सिको सिटीस्थित ऐतिहासिक स्टेडियमले पनि तेस्रो पटक विश्वकपका खेल आयोजना गर्ने कीर्तिमान बनाउनेछ ।

फिफा विश्वकप २०२६ अर्को कारणले पनि विशेष छ । प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी हुनेछन् । यसअघि ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था थियो । टोली संख्या बढेसँगै खेलको संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ । ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ र समूह चरणपछि पहिलो पटक ‘राउण्ड अफ ३२’ खेलाइनेछ ।

नयाँ ढाँचाका कारण फाइनल पुग्ने टोलीले पनि यसअघि भन्दा बढी खेल खेल्नुपर्नेछ । उपाधि भिडन्तसम्म पुग्न टोलीले कुल ८ खेल खेल्नुपर्नेछ, जुन विश्वकप इतिहासमै सबैभन्दा धेरै हो । यस पटक केही राष्ट्रले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै डेब्यु गर्ने भएकाले प्रतियोगितामा नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ ।

विश्वकप २०२६ मा पहिलो पटक फाइनल खेलको मध्य अन्तरालमा विशेष हाफटाइम शो पनि आयोजना गरिनेछ । यसबाहेक राष्ट्रिय गान बज्दा मैदानमा टोलीका सबै खेलाडी र खेल अधिकारीहरू उपस्थित हुने नयाँ व्यवस्था लागू गरिने तयारी गरिएको छ । आयोजक तीनवटै राष्ट्रमा उद्घाटन समारोह आयोजना गरिने भएकाले यस पटकको विश्वकप अझ भव्य र ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ ।