संसद्को कार्यसूचीबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। बैठक सोमबार बिहान ९:३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेछ।
प्रतिनिधिसभाको नयाँ नियमावली लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति अझै गठन हुन नसकेकाले संसद्को आगामी कार्यसूचीबारे छलफल गर्न सभामुखले प्रमुख सचेतकहरूलाई बैठकमा बोलाएका हुन्।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा सदन सञ्चालन र कार्यसूची व्यवस्थापनका विषयमा छलफल हुनेछ। जेठ १७ गते नयाँ प्रतिनिधिसभा नियमावली पारित भए पनि विपक्षी दलहरूको अवरोधका कारण नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन सकेको छैन।
विपक्षी दलहरूले बालेन्द्र शाहको संसदमा भएको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै सदन अवरुद्ध गर्दै आएका छन्। यसबीच, जेठ १९ गतेपछि स्थगित रहेको प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ।
राजनीतिक दलहरूबीच सहमति जुटाएर संसद्को कामकारबाहीलाई नियमित बनाउने प्रयासस्वरूप सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्।







