गालीगलौज बढेको भन्दै हर्क साम्पाङको चिन्ता, ‘देशका लागि लड्दा किन एक्लो बन्नुपर्छ ?’

User Image Prime TV News एक महिना अगाडि
Image of गालीगलौज बढेको भन्दै हर्क साम्पाङको चिन्ता, ‘देशका लागि लड्दा किन एक्लो बन्नुपर्छ ?’

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा आफूविरुद्ध बढ्दो गालीगलौजप्रति चिन्ता व्यक्त गरेका छन्।

देश, जनताको हित र सुशासनको पक्षमा बोल्दा समेत आलोचना र अपमानजनक टिप्पणीको सामना गर्नुपरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सुझाव दिँदा उल्टै गालीको वर्षा भएको बताएका छन्। उनले देशको सार्वभौमसत्ता, न्याय र सुशासनको पक्षमा उभिँदा आफू बारम्बार एक्लो बन्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

साम्पाङले देश निर्माणका लागि श्रमदान अभियान चलाउँदा होस् वा असमान सन्धि–सम्झौताविरुद्ध आवाज उठाउँदा, आफूले सधैँ राष्ट्रिय हितकै पक्षमा काम गरेको दाबी गरेका छन्।

उनले देशको जिम्मेवारी कुनै एक व्यक्तिको मात्र नभएको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा सबै नागरिकको समान चासो र सहभागिता आवश्यक रहेको बताएका छन्।

आलोचना र विरोधका बाबजुद आफ्नो अडान नबदल्ने स्पष्ट पार्दै साम्पाङले अन्तिम सास रहुञ्जेल देश र जनताको हितका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।