इरान–अमेरिका तनाव कम गर्ने सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग खुल्ने तयारी

User Image Prime TV News २ घण्टा अगाडि
Image of इरान–अमेरिका तनाव कम गर्ने सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग खुल्ने तयारी

काठमाडौ । इरान र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।

यो सम्झौता भएपछि विश्वका लागि निकै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग फेरि सञ्चालनमा आउने इरानले जनाएको छ। इरानी विदेशमन्त्रीले सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिकासँगको सहमतिमा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध र नाकाबन्दी हटाउने विषय समावेश भएको बताएका छन्।

उनका अनुसार हर्मुज जलमार्ग खोल्ने र सैन्य तनाव कम गर्ने विषयमा समझदारी बनेको छ। तर इरानको आणविक कार्यक्रमबारे भने पछिल्लो चरणमा छलफल हुने बताइएको छ।

अमेरिकी पक्षले पनि केही विषयमा सहमति नजिक पुगेको संकेत दिएको छ। अमेरिकाले इरानले सहमति अनुसार काम गरेपछि मात्रै आर्थिक राहत र प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढ्ने जनाएको छ।

यो तनाव फागुन अन्त्यतिर बढेको थियो। त्यसपछि दुवै पक्षबीच तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा र विश्व बजारमा असर परेको थियो। विशेषगरी विश्वको ठूलो मात्रामा तेल र ग्यास ओसारपसार हुने हर्मुज जलमार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा चिन्ता बढेको थियो।

अब प्रस्तावित सम्झौता कार्यान्वयन भएमा क्षेत्रीय तनाव घट्ने, व्यापार सहज हुने र विश्व ऊर्जा बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको छ ।