रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन र परिणाम बदर
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम दुवै बदर गरेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि देखिएको भन्दै उक्त निर्णय गरेको जनाएको हो। आयोगका अनुसार अधिवेशनमा निर्वाचन प्रक्रिया सञ्चालन गर्दा पार्टीको विधान र कार्यविधि उल्लङ्घन भएको, साथै लोकतान्त्रिक निर्वाचनका न्यूनतम मापदण्डसमेत पालना नभएको प्रारम्भिक अध्ययनबाट देखिएको छ।
निर्वाचनको वैधता सम्बन्धमा उम्मेदवार तथा पार्टी सदस्यहरूले प्रमाणसहित उजुरी दर्ता गरेपछि आयोगले अध्ययन थालेको थियो। उजुरी र प्रमाणका आधारमा प्रक्रिया त्रुटिपूर्ण देखिएको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ।
२५ जेठमा भएको उक्त अधिवेशनमा सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए। उनले ३३५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए। निर्वाचन बदर भएपछि अब जिल्ला अधिवेशन पुनः प्रक्रिया अनुसार सञ्चालन हुने बताइएको छ ।







